Sthabir_Manju Shree Ratna Bajracharya

– राजगुरुजु मञ्जु श्री रत्न बज्राचार्य

(स्थविर, नेपाल बज्रयान महाविहार, लुम्बिनी / उपाध्यक्ष, नेपाल परम्परागत बौद्ध धर्म संघ, काठमाडौं शाखा।)

काठमाडौं उपत्यका पाइलैपिच्छे मन्दिर, चैत्य, देवालय, शिवालय भएको शहर हो। यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको देश भनेर पनि चिनिन्छ । यति मात्रै होइन यहाँ महिनै पिच्छे चाडपर्वहरू मनाई आइरहेको हुन्छ। श्रावण कृष्ण चतुर्दशी अर्थात् पिचास चतुर्दशी   (गठांमुगः) पछि यहाँ चाडपर्वको लाम लागेर आएको हुन्छ । ती चाडपर्वहरू मध्ये एउटा विशेष पर्व आउँदछ “पञ्चदान” पर्व । स्थानीय नेपालभाषामा यो पर्व “पञ्जराँ” नामले प्रख्यात छ।
यो पर्व काठमाडौंका बौद्ध धर्मावलम्बीहरूको विशेष पर्व गुँला महिनामा पर्ने महत्वपूर्ण पर्व हो। गुँला महिनाभरि नै बौद्ध धर्मावलम्बी नेवारहरू बौद्ध देवस्थलको दैनिक परिक्रमा गर्नुको साथै महिनाभरि नै ब्रत बस्ने, अरूको उपकार गर्ने, लक्ष्य चैत्य (माटाका १ लाख चैत्य) बनाउने जस्ता धार्मिक कार्यहरू गर्ने गरिन्छ भने यही महिनामा दानधर्म गर्ने कार्य पनि गरिन्छ। यसरी दान दिने पर्वको रूपमा “पञ्चदान” पर्वलाई मनाउने गर्दछ।
बौद्ध धर्ममा बुद्धत्व प्राप्तिको लागि पूरा गर्नुपर्ने विभिन्न दशवटा पारमिताहरू मध्ये दानपारमिता सबभन्दा अगाडि आउँदछ । दान कार्य गर्नाले मैत्री, करुणा, मुदिता, उपेक्षाको भावना वृद्धि हुन्छ भने दानपारमिता पूर्ण भएमा अरू पारमिताहरूको अभ्यास गर्न सजिलो पर्दछ । यस कारण दान कार्य गर्ने पर्वको रूपमा “पञ्चदान पर्व” बौद्ध नेवारहरूको श्रद्धापूर्वक मनाउने गर्दछ।
यो पर्वमा बुद्धधर्मका त्रिरत्न अर्थात् बुद्धरत्न, धर्मरत्न, संघरत्नहरू मध्ये संघरत्नको रूपमा रहेका बज्राचार्य शाक्यभिक्षुहरूको संघलाई उपासक÷उपासिकाहरूले आ–आफ्नो घरमा दिपंकर बुद्धको प्रतिमा प्रदर्शन गरी पिण्डपात्रहरू धान, चामल, गेडागुडी, खिर, नून आदि खाद्य वस्तुहरूको साथै दैनिक जिवनमा चाहिने वस्तुहरू — औषधी, खरी, धागो, सियो, वस्त्र, सर्वत, कुचो, डोरी, दियो आदि वस्तुहरू दान गर्ने चलन छ ।
कसैकसैले दानशाला बनाई बज्राचार्य शाक्यभिक्षुहरूलाई निमन्त्रणा गरी पाउ धोई पखाली, भुईंमा कपडा बिछ्याई पूजा गरेर त्यस्ता वस्तुहरू दान गर्ने गरिन्छ जसलाई “नराँ पञ्चदान” भन्ने चलन छ । बज्राचार्य शाक्यभिक्षुहरूले आफ्ना जजमानहरूकहाँ पञ्चदान लिन जानुको साथै आफ्नो घरमा अरू बज्राचार्य शाक्यभिक्षुहरूलाई पञ्चदान दिने गरिन्छ।
यसरी पञ्चदान लिने समयमा गुरुहरूबाट दानगाथा वाचन गरिन्छ । त्यसमा दानको महिमा व्यक्त गरिएको हुन्छ भने कस्तो वस्तु दान दिएमा कुन प्रकारको फल प्राप्त हुन्छ भन्ने पनि त्यस दानगाथामा उल्लेख भएको हुन्छ। यसरी पञ्चदान लिइसकेपछि जजमानलाई सप्तवृद्धी अर्थात् आयु, आरोग्य, जन, धन, सन्तान, यश, प्रज्ञा वृद्धि होस् भनी आर्शिवाद दिने चलन छ।
दानगाथा श्लोकमध्ये दान प्रशंसा गाथा यस प्रकारको छ:-
“दानं विभूषणंं लोके दान दुर्गति निवारणं ।
दानं स्वर्गस्य स्वपानं दानशान्ति कर शुभम् ।।
अर्थात् दान यो लोकको आभूषण हो, दानले दुर्गति हटाउँछ ।
दान नै स्वर्गको भ-याङ्ग हो तसर्थ शान्तिपूर्वक दान गर्नु शुभ हुन्छ ।।
यो पञ्चदानको प्रचलन कहिलेदेखि प्रचलनमा आयो भन्ने विषयमा बुद्ध भगवानहरूमध्ये पिण्डपात्रावदानमा उल्लेख भएअनुसार शाक्यमुनि बुद्धभन्दा पनि धेरै अगाडि दिपंकर बुद्धको समयमा सर्वानन्द राजाको समय यसरी बुद्धसंघलाई पञ्चदान दिने चलन आएको हो।
उक्त अवदान अनुसार एक दिन दिपंकर बुद्ध सर्वानन्द राजाको निम्तोमा राजदरवारमा भिक्षा लिन गैरहनु भएको बेलामा लक्ष्मी थकुं नाम गरेकी एक वृद्ध महिलाले दिपंकर बुद्धलाई आफ्नो घरमा लगि आपूmले दुःख गरी कमाइराखेको अन्न–धन दान दिइन ।
यो कुरा सर्वानन्द राजाले थाहा पाई दिपंकर बुद्ध पहिला आपूm कहाँ भिक्षा नलिई वृद्ध लक्ष्मी थकूंकोमा भिक्षा स्वीकार गर्नुको कारण सोध्दा दिपंकर बुद्धबाट मेहनत गरी कमाएकोबाट दिएको दानको महिमा बढी भएको र राज्यकोषबाट दिने दानको महत्व कम भएकोले पहिला लक्ष्मी थकूंको हातबाट दान दिएको कुरा थाहा पाएपछि सर्वानन्द राजाले पनि भेष बदलेर फलामको काम गर्ने ठाउँमा ज्यामी भई आरणमा बसी मेहनतपूर्वक काम गरी कमाएपछि फेरि दिपंकर बुद्धलाई दान दिनु भएको कुरा त्यस अवदान कथामा उल्लेख छ ।
पछि सर्वानन्द राजा अनेकौं जन्म जन्ममा यस्ता दशपारिमिताको पारमिताहरू पूर्ण गरी अन्तमा सिद्धार्थ गौतमको भई जन्म लिई बुद्धत्व प्राप्त गर्नु भएको विश्वास गरिन्छ। त्यही दिपंकर बुद्धको समयदेखि नै बुद्ध धर्मलाई पञ्चदान दिने चलन चलिआएको बौद्धहरूको विश्वास छ।
यस कारण पञ्चदानमा दिपंकर बुद्धको प्रतिमा अगाडि राखी पञ्चदान दिने चलन अहिलेसम्म पनि प्रचलन रहेको छ। पाटनको गुईतः बही नामक बिहारमा अहिले पनि गुईतः अजिः  (लक्ष्मी थकूं) को प्रतिमा यो गुँला महिनाभरि प्रदर्शन गर्ने चलन रहेको छ।
यस्तो महत्वपूर्ण पर्व समय परिस्थिति अनुसार विस्तारै ह्रास आउन लागेकोमा नेपालको परम्परागत बौद्ध धर्म समय सापेक्ष सुधार एवं सम्बद्र्धन गरी संरक्षण गर्ने उद्देश्यबाट स्थापित नेपाल परम्परागत बौद्ध धर्म संघको पहलमा यस्तो महत्वपूर्ण पर्वलाई बचाई राख्न यसलाई सामूहिक रूपमा सबै तहका बज्राचार्य, शाक्यभिक्षु, गुरुमांहरूलाई समेटी आफ्नो संस्कृतिलाई जोगाई राख्नुपर्दछ भन्ने भावना विकसित गरी सामूहिक रूपमा पञ्चदान लिन जाने व्यवस्था गरेको छ।
उच्च ओहदामा बसेका बज्राचार्य, शाक्यभिक्षु, गुरुमांहरू लगायत सम्पूर्ण बज्राचार्य, शाक्यभिक्षु, गुरुमाहरूलाई समेटि पञ्चदान लिन जाने र यस्तो पञ्चदानबाट प्राप्त हुने दान दक्षिणा सबै बुद्ध जन्मभूमि नेपालको लुम्बिनीमा नेपालको पहिचान आफ्नै कला, संस्कृति, मौलिकताको बौद्ध बिहार अर्थात् “नेपाल बज्रयान महाबिहार” निर्माणमा समर्पण गरी आज उक्त नेपाली बिहार निर्माण भैरहेको छ । जुन लगभग कार्य पूरा भै सकेको छ।
महाबिहार निर्माणमा नेपालीहरूको मात्र दान, सहयोगबाट निर्माण भैरहेको उक्त नेपाल बज्रयान महाबिहार, लुम्बिनीमा नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान गराउने एउटै मात्र बिहार हुनेमा द्विविधा हुने छैन। यसरी यस पञ्चदान पर्वबाट दान गर्ने अभ्यासबाट मनमा मैत्री, करुणा, मुदिता, अपेक्षा, चतुर्ब्रम्ह बिहारको भावना विकास हुन सघाउ पु-याउँदछ भने त्यस्तो पर्वहरूलाई सदुपयोग गर्न सकेमा कुनै एउटा ठूलो योजना सफल हुन्छ भनी शिक्षा पनि पाएको छ ।
यसबाट हामीले हाम्रो चाडपर्वहरूलाइ समय सापेक्ष सदुपयोग गरी उपलब्धिमूलक बनाउन सक्दछ भने कुरा “पञ्चदान पर्व” र यसको सञ्चालनबाट देखाएको छ।
प्रकाशन मिति–२०७६ साल भदौ ८ गते आइतवार ।