भरतपुर। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनैजना सोमबार रिहा भएका छन्। रवि लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको हो।

कार्कीलाई पीडितमा राख्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको जनाइएको छ। आदेशलगत्तै रवि लामिछाने र युवराज कँडेलले धरौटी तिरेर रिहा भएका छन् भने अस्मिता कार्की पनि रिहा भएकी छन्। चितवन जिल्ला अदालतले मुद्दाको फैसला नहुन्जेल घटनासँग सम्बन्धित कार्यक्रम सन्चालन गर्न रवि लामिछानेलाई रोक लगाएको छ। उनीहरुले विदेश जानुपरेमा अदालतको अनुमति लिनुपर्ने भनिएको छ।

चितवन जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको थुनछेक बहसकाक्रममा ८ जना वकिलहरुले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायतले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

चितवन जिल्ला अदालतले रवि लामिछानेसहित तीनैजनासँग आइतबार र सोमबर गरी दुई दिन लगाएर बयान लिएको थियो। आत्महत्या प्रकरणमा लामिछानेसहित तीनैजनालाई गएको साउन ३१ गते काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याइएको थियो।
प्रकाशन मिति–२०७६ साल भदौं ९ गते सोमवार ।