काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका ठाउं–ठाउंमा पञ्चदान लिने कार्य गरेका छन्। बौद्ध धर्मको महान पर्व पञ्चदानको पावन अवसरमा मेयर शाक्यले काठमाडौंका विभिन्न स्थानहरुमा पैदल नै यात्रा गरेर स्थानीयवाट पञ्चदान लिएका हुन्।

काठमाडौंको ठमेल स्थित थँबहिल विक्रमशील महाविहारवाट पञ्चदान लिने कार्र्यक्रममा सहभागिता जनाएर इटुम्बहालसम्म पुगेका थिए। बौद्ध धर्म संघको काठमाडौं शाखाले आयोजना गरेको पञ्चदान कार्यक्रममा मेयर शाक्यले जातिय धर्म अनुसार सहभागिता जनाएर अनुपम कार्य गरेको अन्तरसञ्चारकर्मी धर्मराज बज्राचार्यले बताएका छन्।

तीन बर्षअगाडि पनि मेयर शाक्यले यसरी नै सहभागिता जनाएर धर्म–संस्कृति र परम्परा जगेर्ना गर्न सवैलाई उत्प्रेरणा दिने कार्य भएको अन्तरसञ्चारकर्मी बज्राचार्यको जिकिर रहेको छ। मेयर शाक्य पञ्चदानमा त्यसरी सहभागिता जनाएर पञ्चदान लिदैआउंदा पञ्चदान दिनेहरुको पनि उत्साहमा अभिबृद्धि भएको र मेयर शाक्यलाई आफूले नघल स्थित श्रीघः विहारमा पञ्चदान दिएको सामाजिक अभियन्ता सुनिता कायस्थको भनाई रहेको छ। मेयर शाक्यले यसरी जनसमक्ष पुगेर जनताको हातवाट पञ्चदान लिन पाउंदा अत्यन्त गौरबता महशुश भएको बताएका छन्।

बौद्ध धर्ममा बुद्धत्व प्राप्तिको लागि पूरा गर्नुपर्ने विभिन्न दशवटा पारमिताहरू मध्ये दानपारमिता सबभन्दा अगाडि आउँदछ। दान कार्य गर्नाले मैत्री, करुणा, मुदिता, उपेक्षाको भावना वृद्धि हुन्छ भने दानपारमिता पूर्ण भएमा अरू पारमिताहरूको अभ्यास गर्न सजिलो पर्दछ। यस कारण दान कार्य गर्ने पर्वको रूपमा “पञ्चदान पर्व” बौद्धमार्गीहरुले प्रत्येक बर्ष आजकै दिनमा मनाउने कार्य गरिदैआएको हो।
प्रकाशन मिति–२०७६ साल भदौं ११ गते बुधवार ।