–श्याम स्मृत
काठमाडौं। नेपालका महानगरपालिका, नगरपालिका तथा गाउंपालिकाका मेयरहरु पजेरो चढ्न हानथाप गरिरहेको बर्तमान अवस्थामा उदयपुर जिल्ला स्थित लिम्चुङवुङ गाउंपालिकाका मेयर भने यसको विरोधमा छन्। लिम्चुङवुङ गाउंपालिकाका मेयर मेजर राई मेयरको सुविधाको गाडी नलिइकन स्थानीय वासिन्दाको लागि आतेजाते गर्नका लागि बस सेवा शुभारम्भ गर्दैछन्।

मेयरले आफूले पाउने पजेरो सुविधा नलिइकन पब्लिकको लागि बस खरिद गरेर सेवा दिने निर्णय गरिसकेका छन्। स्थानीय जनताका प्रभावशाली मेयर मेजर राई आफू लखर–लखर हिंडे्र भएपनि जनतालाई बस चढाउन यतिखेर कम्मर कसेर लागिरहेका छन्। पहाडी गाउंपालिका भएको कारण आतेजाते कठिन तथा बस सुविधाको अभाव भैरहेको अवस्थामा जनतालाई सुख दिन नै मेयरले चढ्ने पजेरोको स्थानमा बस किन्न लागेको खुलासा पनि मेयर मेजर राईले गरेका छन्।

नाम पनि मेजर राई तथा काम पनि मेजरकै शैलीमा रहेका मेजर राई लिम्चुङवुङ गाउंपालिकामा चमत्कार गरेर देखाउन अहोरात्र मेहनत गरिरहेका छन्। खोटाङको हलेसी महादेवसंगै जोडिएको लिम्चुवुङ गाउंपालिकामा भ्यू–टावर बनाएर विदेशी तथा आन्तरिक पर्यटन प्र्रवद्र्धनको खाका पनि तयार पार्ने कार्य मेयर मेजर राईले गरिसकेका छन्। समुद्र देखि सगरमाथासम्म सोही भ्यू–टावरवाट देखाएर पर्यटकलाई आकर्षित बनाउने योजनामा रहेका मेयर मेजर राईले लमजुङको पर्यटकीय घलेगाउं तथा धरानको भेडेटारसम्म पनि त्यसको प्रचार गरिसकेका छन्।

उदयपुर जिल्लाको सदरमुकाम कटारी–गाईघाटवाट ७५ किलोमिटरको दूरीमा रहेको रमणिय लिम्चुङवुङ गाउंपालिकालाई स्वर्णिम बनाउने अनेक योजना बुनिसकेका मेयर मेजर राई दक्षिण कोरियामा ७ बर्ष काम गरेर नेपाल फर्केका होनहार युवा हुन्। जसको रगतमा आँट, जोश र धैर्य रहेको छ।

हर कार्यमा सोच–विचार गरेर सैद्धान्तिक तथा व्यावहारिक कार्य गरेर सवैको वाह–वाही पाउंदै आएका मेयर मेजर राई नेपाल फर्केको दुई महिनामा नै नेपाली राजनीतिमा पकड बलियो बनाएर पूर्व माओवादी केन्द्रवाट मेयरमा जितेका हुन्। हाल नेकपाका प्रभावशाली युवा नेताको रुपमा समेत ख्याति कमाएका मेयर मेजर राईले दक्षिण कोरियामा आफूले सिकेका कार्य अनुभवको आधारमा आफ्नो गाउं बनाइरहेको बताएका छन्।
प्रकाशन मिति–२०७६ साल भदौं १० गते मंगलवार ।