काठमाडौं। नेपालका प्रधानमन्त्री केपी ओलीले सिंगापुरबाटै मन्त्रिपरिषद् बैठक गरेका छन्। उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले सोमबार ‘भिडियो कन्फरेन्स’ मार्फत बैठकको अध्यक्षता गरेका हुन्। प्रधानमन्त्री कार्यालयमा भिडियो कन्फरेन्समार्फत कुराकानी गर्न मिल्ने ‘एक्सन रुम’ बनाइएको छ। त्यहीँ मन्त्रीहरू बसेका थिए। यो कक्ष गत जेठबाट सञ्चालनमा आएको हो।

भिडियो कन्फरेन्सका लागि एक्सन रुममा ठूल्ठूला तीनवटा स्क्रिन राखिएका छन्। सिंगापुरबाट प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग मन्त्रालयका कामबारे कुराकानी गरेका थिए। मन्त्रिपरिषद् बैठकको निर्णय भने सार्वजनिक गरिएको छैन। भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको नेपालको इतिहासमा यो पहिलो पटक हो।

प्रविधि प्रयोग गरेर बैठक गर्न सकिएको भन्दै प्रधानमन्त्री ओलीले टवीटमार्फत प्राविधिकहरूलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओली सिंगापुर जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रविधिको प्रयोग गरेर पनि मन्त्रिपरिषद् बैठक गर्न सकिने गरी कार्यविधि संशोधन गरेको थियो। प्रधानमन्त्री जहाँ भए पनि प्रविधिको प्रयोगबाट बैठक सञ्चालन गर्न समस्या नहोस् भनेर मन्त्रिपरिषद्ले कार्यविधि संशोधन गरेको हो।

त्यही कार्यविधिअनुसार सोमबार नियमित मन्त्रिपरिषद् बैठक भएको हो। प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गरिएकामा आपत्ति जनाएका छन्। नेता पौडेलले यसबाट राष्ट्रिय गोपनीयता भंग हुने कान्तिपुरसंग जिकिर गरेका छन्।
प्रकाशन मिति–२०७६ साल भदौं ९ गते सोमवार ।