काठमाडौं। यो बर्ष अर्थात विसं.२०७६ सालको नेपाल पञ्चाङ समितिले प्रकाशनमा ल्याएको पात्रोमा नेपालको मौलिक संवत राष्ट्रको गौरब नेपाल संवत, नेवारहरुको पहिचान, परम्परा तथा संस्कृतिको अनुपम परम्परा आत्मपूजा अर्थात म्हःपूजा र भाइटीकाका तिथिहरुमा अन्यौलता पैदा गरिदिएको छ।

जसलेगर्दा म्हःपूजाको दिन सयौं बर्षदेखि मनाउंदै आएको नेपाल संवत नयाँ बर्ष ११४० यो बर्ष म्हःपूजाको भोलिपल्ट कात्तिक १२ गते मंगलवार पञ्चाङ समितिले उल्लेख गरेको छ। कात्तिक ११ गते म्हःपूजा तिथि तोकिदिएर त्यसको भोलिपल्ट नेपाल संवत नयाँ बर्ष ११४० को तिथि तोकिदिदा सयौं बर्षदेखि परम्परा तथा संस्कृतिमाथि नेपाल पञ्चाङ समितिले धावा बोलेको भन्दै त्यसको व्यापक विरोध नेपालभाषा मंकाः खलःले गरेको छ।

नेपाल पञ्चाङ समितिको उक्त तिथिमिति आफूहरुलाई अमान्य हुने र सवै नेवारहरुले सयौं देखि परम्परागत रुपमा मनाउंदै आएको तिथिमिति अनुसार नै म्हःपूजा र नेपाल संवत एकैदिन अर्था कात्तिक १२ गते मंगलवार नै मनाउने सर्वसम्मत निर्णय नेपालभाषा मंकाः खलःले गरेको नेपालभाषा मंकाः खलःका सचिव नरेशवीर शाक्यले भनेका छन्।

नेपालभाषा मंकाः खलःले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल र नेपाली सवैलाई कात्तिक ११ गते सोमवार लक्ष्मीपूजा, कात्तिक १२ गते मंगलवार म्हःपूजा–नेपाल संवत–नयाँ बर्ष र कात्तिक १३ गते बुधवार भाइटीका मनाउन आव्हान गरेको छ। जबकि नेपाल पञ्चाङ समितिले प्रकाशनमा ल्याएका क्यालेण्डरहरुमा कात्तिक १० गते आइतवार कुकुर तिहार, लक्ष्मीपूजा उल्लेख गरेको छ। कात्तिक ११ गते सोमवार म्हःपूजा र कात्तिक १२ गते मंगलवार नेपाल संवत नयाँ बर्ष र भाइटीका उल्लेख रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको पात्रोअनुसार परम्परामा अलमल सिर्जना भएको हो। वाङ्मय शताब्दीपुरुष डाक्टर सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभइ परम्परादेखि चल्दै आएको व्यवहारमा पनि ध्यान दिन आग्रह गरेका छन्। प्रा। डा.त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपायहरु रहँदा–रहँदै पनि समितिले गर्ने बेवास्ताप्रति असन्तुष्टि जनाएका थिए।

प्रकाशन मिति–२०७६ साल असोज ७ गते मंगलवार ।