काठमाडौं। अपरेशनल रिसर्च सोसाईटी अफ नेपाल(ORSN) को बार्षिक साधारण सभा संपन्न भएको छ। काठमाडौंमा उक्त संस्थाको चौधांै वार्षिक सभा संपन्न भएको हो।

संस्थापक अध्यक्ष प्रा. डा.सुनिती श्रेष्ठको सभापतित्वमा संचालन भएको उक्त साधारण सभाले डा. गोविन्द तामाङको अध्यक्षतामा ११ जनाको नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमिति गठन गर्नु भन्दा अगाडि प्रा. डा. महानन्द चालिसेले नेपालको सन्दर्भमा ज्ञान व्यवस्थापन (Knowledge management) विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।

सभामा ORSN का उपाध्यक्ष प्रा. डा. पुष्करकुमार शर्माले स्वागत गरेका थिए भने महासचिव डा. गोविन्द तामाङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण नकर्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभालाई सम्वोधन गर्ने क्रममा प्रा. डा. श्रेष्ठले आफ्नो लगातार १२ बर्षको नेतृत्वले ORSN लाई अन्तरराष्ट्रिय क्षेत्रमा सुपरिचित गराएको प्रसंग उल्लेख गर्दै IJORN को निरन्तर प्रकाशन गरेको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मेलन गर्ने क्रममा सन् २०२० को फेब्रुअरिमा पोखरामा ORSN International Conference 2020को आयोजना गर्ने उद्घोष पनि गरे।

सर्वोच्च अदालत वार एशोसियशनका सचिव सुभन आचार्यको एकल निर्वाचन समितिले नयाँ कार्यसमितिमा उपाध्यक्षमा डा. कविता वादे श्रेष्ठ, महासचिवमा सुनिल अमात्य, सचिवमा डा. विजयलाल प्रधान र कोषाध्यक्षमा नुरा श्रेष्ठ त्यसै गरी कार्यकारी सदस्यमा प्रा. डा. सुनिती श्रेष्ठ, दिपेन्द्र पुरुष ढकाल, राजु मानन्धर, डा. सरोज ज्ञवाली, सत्यबहादुर श्रेष्ठ र देवीलाल शर्मा सर्वसम्मतबाट चुनिएको जानकारी संस्थाका आजीवन सदस्य निर्मल बज्रचार्यले दिएका छन्।


प्रकाशन मिति–२०७६ साल असोज ६ गते सोमवार ।