काठमाडौं। पश्चिम नेपालको दाङ घोराही स्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको बस दुर्घटना हुंदा १६ जनाको मृत्यु भएको छ। त्यसैगरेर, ११ जना घाइते भएका छन्। सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज शुक्रबार दुर्घटना भएको हो।

प्रहरीका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ। गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ। बस झण्डै सात सय मिटर तल भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताएका छन्।

शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर तुलसीपुरतर्फ फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीको भनाई रहेको छ।
प्रकाशन मिति–२०७५ साल पुष ६ गते शुक्रवार ।