काठमाडौं। कहिलेकाही अनौठो तथा आश्चर्यप्रद घटना हुने गरेको छ। खवर बंगलादेशको ढाकाको रहेको छ। त्यो पनि छोरो जन्मेको २६ दिनपछि बंगलादेशकी एक महिलाले दुईवटा बच्चा जन्माएर विश्वलाई नै अचम्भित बनाएको छ।

२० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन्। उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको बताइएको छ।आरिफ सुल्ताना नाम गरेकी ती महिला श्यामलागाछी गाउँ निवासी रहेको बताइएको छ।

उनको उपचारमा संलग्न चिकित्सक शीला पोद्दाका अनुसार पहिलोपटक सुत्केरी हुँदा ती महिलाको गर्भमा अन्य बच्चा रहेकोबारे थाहा नै थिएन । सुत्केरी भएको २६ औं दिनमा स्वास्थ्यमा समस्या भएर उनी अस्पताल आएको र स्वास्थ्य परीक्षणपछि उनको गर्भमा शिशु रहेको थाहा भएको डा.शीलाले बताइन्।

पहिलोपटक सुत्केरी हुँदा उनले सामान्य रुपमा नै बच्चालाई जन्म दिएको बताइन्छ । तर दोस्रोपटक भने शल्यक्रिया गरिएको थियो । पछिल्लो पटक उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । चिकित्सकका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय पाइएको छ ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल चैत्र १४ गते विहीवार ।