ललितपुर । स्वाबलम्बन जीवनपद्धति केन्द्र ललितपुरको समन्वय र फेज नेपालको सहयोगमा लकडाउनको बर्तमान अवस्थामा पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको घर–घरमा पुगेर सहयोग गर्ने कार्य भएको छ।

ललितपुर महानगरपालिकाको विभिन्न वडामा पुगेर शनिवार २४ जना पूर्ण तथा अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको घर–घरमा पुगेर लकडाउनका कारण पर्न गएको समस्याहरुमा हातेमालो एबं दुख सुख आदान प्रदान कार्य भएको थियो।

लकडाउनको बेला सामान्य नागरिकहरु,श्रमिक,जेष्ट नागरिक,ज्यालादारी,मजदुर,एकल महिला र अपाङ्गता भएका ब्यक्तिहरुलाई राहतमा प्राथमिकतामा राखिएता पनि पूर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुले राहत पाउन नसकेको अवस्था रहेको छ।

त्यसका बाबजुत आवश्यक स्वास्थ्य सामाग्रीहरुबाट बञ्चित हुनु परेको अवस्थालाई मध्यनजर राखी उनीहरुको समस्या,अवस्था र आवश्यकतालाई प्रत्यक्ष अवलोकन गर्न पनि हुने र आगामी दिनहरुमा उनीहरुसंग मिलेर काम गर्न र अपाङ्गता भएका ब्यक्तिलाई घर परिवार एबं समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराउन यसप्रकारको सहयोग अभियान गरेको जानकारी आयोजक स्वाबलम्बन जीवनपद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्।

अध्यक्ष श्रेष्ठका अनुसार, यसप्रकारको कार्यले नागरिक हैसियत स्थापित गर्न सहज होस हुने गर्दछ। यसै उदेश्यनुरुप ललितपुर महानगरपालिकाका महिला बालबालिका कार्यालयकी प्रमुख महेश्वरी बिष्ट रावल समेतको समन्वयमा अपाङ्गता समन्वय समितिका संयोजक एबं ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल,वडाध्यक्षहरु गणेश केसी,रामबाबु महत,चन्द्रमान महर्जन,बाबुराजा महर्जन,सुरेश महर्जन,सदस्य सन्तोष खड्का,फेज नेपालका प्रोग्राम म्यानेजर रुद्र न्यौपाने,लजिस्टिक डाइमन थापा स्वाबलम्बन जीवन पद्धती केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ,उपाध्यक्ष रत्नबहादुर राई,महासचिब कृष्ण गौतम र कोषाध्यक्ष उदयबहादुर लिम्बू सहयोग कार्यक्रममा सहभागी थिए।

झम झम पानी परेपनि रुझ्दै घर घर पुगेर सामाग्री उपलब्ध गराउंदा वरपरका छरछिमेकहरु घरघरको झ्याल,कौशीबाट हेर्दै सोधखोज र प्रशंसा गरेका थिए।
प्रकाशन मिति–२०७७ साल बैशाख २१ गते आइतवार ।