Ram Baran Yadavकाठमाडौ। नेपालका पूर्वराष्ट्रपति डा.रामवरण यादवले ललितपुर बागडोलस्थित भाडाको घरबाट अन्तै सारिदिन आग्रह गरेका छन्। चार महिनासम्म सरकारले भाडा नदिएपछि घरबेटीले समेत ताकेता गरेपछि पूर्वराष्ट्रपतिले अन्यत्रै सारिदिन भनेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो सुन्न पठाएका स्वकीय सचिव ईन्द्र भण्डारीसँग पूर्वराष्ट्रपतिले अर्को घरको व्यवस्था गर्न आग्रह गरेका हुन्। विद्या भण्डारी निर्वाचित भएकै दिन कात्तिक ११ गतेदेखि पूर्वराष्ट्रपति यादवलाई सरकारले बागडोलस्थित भाडाको घर उपलब्ध गराएको थियो।

पूर्वराष्ट्रपति यादवले निवासमा खानेपानी, बिजुलीको समेत राम्रो व्यवस्था नभएको गुनासो राखेका थिए। उनले अग्लो पर्खाल नभएकाले घरमा सुरक्षासमेत नभएको, सुरक्षाकर्मीलाई बस्ने आवासको राम्रो व्यवस्था नभएको जानकारी गराएका थिए। पूर्वराष्ट्रपति यादवले घर माथि बिजुलीको हाइटेन्सन लाइन हुँदा स्वास्थ्यमा गम्भीर समस्या हुने र जोखिमपूर्ण भएको गुनासो गरे।
प्रकाशन मिति–२०७२ साल फागुन २६ गते बुधवार ।
प्रकाशन समय–विहान ६ बजे ।