काठमाडौं। बडा दशैं नवरथाको आज नौ तथा अन्तिम दिन महानवमी । आज आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व । आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाउने कार्य भैरहेको छ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।


दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ। आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।

बर्षमा एकपल्ट खुल्ने तलेजु मन्दिर खुल्यो
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज महानवमीको दिन खुलेको छ। वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज विहानैदेखि यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लागेको छ।
प्रकाशन मिति–२०७६ साल असोज २० गते सोमवार ।