काठमाडौं। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने बडा दशैं नवरथाको आठौं दिन आज महाअष्टमी पर्व । आज नेपालीहरुले बडादसैंकारुपमा दुर्गाभवानीको पूजा–आराधना गरी भव्यरुपमा मनाउने कार्य भैरहेको छ। आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गर्ने गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिइ दुर्गाभवानीको विशेष पूजाआजा गरिन्छ दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। आजैका दिन राति कालरात्रिकारुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ। कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ।

आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, संकटा, बज्रवाराही, दक्षिणकाली, चामुन्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ।

यसैगरी, काठमाडौं उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चन्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा–आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ।

पशुबलि नचढाउनेहरुले भने आज पूजाकोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदि बलि चढाइ पूजाआजा गर्ने गर्दछन्। आज राति हनुमानढोकाको दसैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ।
प्रकाशन मिति–२०७६ साल असोज १९ गते आइतवार ।