काठमाडौं। करिब १२ वर्षअघि रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य आलमलाई आइतवार बिहान पक्राउ गरेको हो।

पहिलो संविधान सभाको निर्वाचनको पूर्वसन्ध्यामा बूथ कब्जा गर्ने उद्देश्यले बम बनाउने क्रममा विष्फोट हुँदा कम्तीमा दुईजनाको घट्नास्थलमै मृत्यु भएको थियो। तर उक्त घट्नामा परि घाइते भएका अन्य १३ जनालाई समेत जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) नविन कार्कीका अनुसार पक्राउ परेका सांसद आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको छ।यसैबीच बम काण्डको अभियोगमा पक्राउ परेका आलमको रिहाइको माग गर्दै नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

प्रकाशन मिति–२०७६ साल असोज २६ गते आइतवार ।