काठमाडौं। बालुवाटारको निवास सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार, ५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे काठमाडौंको बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।

प्रहरीका अनुसार उनको आत्महत्यको विषयमा अनुसन्धान भैरहेको छ। श्रेष्ठ किनमेल गर्न भनी त्यस सिटी सेन्टरमा गएका थिए। सोही क्रममा उनी सेन्टरबाट हाम्फालेको देखिन्छ भनेर प्रहरीको रिपोर्टमा उल्लेख रहेको छ। श्रेष्ठको मृत शरीरलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटार परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो। मालपोत कार्यालय डिल्लीबजारमा रहँदा उनले नक्कली कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप थियो।

मालपोत सुब्बाबाट अवकाश पाएपछी उनले आफ्नो जिल्ला पर्वत फर्किएर नेपाली कांग्रेसको सक्रिय राजनीति गरेका थिए। सुरूमा जिल्ला सदस्यमा निर्वाचित भए। ४ वर्षअघि उनलाई जिल्ला कार्यसमितिको सचिवमा मनोनित गरिएको थियो।

पर्वतमा राजनीति गरेपनि उनी काठमाडौंको बालाजुक्षेत्रमा बस्दै आएका थिए। नेपाली कांग्रेसले उनको मृत्युप्रति दुख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ।
प्रकाशन मिति–२०७६ साल साउन १३ गते सोमवार ।