Sindhuli Bardibas 3

काठमाडौ। सिन्धुलीको शीतलपाटी गाविस–९ बेनीघाट–खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बीपी राजमार्ग सन्चालनमा ल्याइएको छ। राजमार्ग निर्माणकाबेला सन्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाटमात्र सवारी सन्चालनमा ल्याइएको हो।

आइतबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग १९ घन्टापछि खुलाइएको बनेपा–सिन्धुली–बर्दिबास सडक योजनाका योजना प्रमुख भरतकाजी तिवारीले बताएका छन्। सडक खुलाएपछि बीचबाटामा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ पठाइएको छ।

राति सवारी सन्चालन गर्दा जोखिम रहने भएकाले सो समयमा कुनैपनि सवारी–साधन सन्चालन नगरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियार भन्छन्।

साँघुरो वैकल्पिक सडकबाट सवारी सन्चालन गर्नुपर्ने भएकाले अहिले सुरक्षालाई ध्यानमा राख्दै तत्कालै एकातर्फबाटमात्र सवारी सन्चालन गरिनेछ। साँझ परेपछि दैनिक राजमार्ग बन्द रहने र बिहान ६ बजेदेखिमात्र सवारी सन्चालन गरिने उनको भनाइ छ।
प्रकाशन मिति–२०७३ साल फागुन १० गते मंगलवार ।