काठमाडौं। भगवान बुद्धको बुद्धभूमि नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपालमा पहिलोपटक ‘बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट’ गर्ने भएको छ । नेपाल सरकारको सहयोग तथा नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टुर एजेन्ट (नाट्टा)को आयोजनामा आगामी पुस २६ देखि २८ गतेसम्म बुद्धको जन्मभूमि लुम्बिनीमा ट्राभल मार्ट गर्न लागेको हो।

‘एक्सप्लोर द बुद्ध ल्याण्ड, गेटवे टू बुद्धिस्ट सर्किट’ भन्ने मूल नाराका साथ पहिलोपटक बुद्धभूमिमा ट्राभल मार्ट आयोजना गर्न लागिएको हो। मार्ट सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समितिसमेत गठन गरिसकिएको छ ।

मार्टमा चीन, भारत, म्यानमार, जापान, भियतनाम, कोरिया, क्यानडा, जर्मनी, फ्रान्सलगायत तीसभन्दा बढी मुलुकका भिक्षु, टुर अपरेटर, बुद्धिस्ट एशोसिएशनका प्रतिनिधि, नेशनल टुरिज्म काउन्सिलका प्रतिनिधि लगायतको सहभागिता रहनेछ। मार्टमा नेपाल सरकारअन्तर्गत रहेका सम्पूर्ण पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको समेत सहभागिता रहने भएको छ।


प्रकाशन मिति–२०७५ साल कात्तिक १५ गते बिहीवार ।