लण्डन । बेलायतका स्वर्गवासी राजकुमार फिलिपको अन्तिम संस्कार अप्रिल १७ तारिखमा हुने भएको छ। गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएका राजकुमार फिलिपको विन्डसोरमा अन्तिम संस्कार गरिने बकिङघम प्यालेसले जनाएको हो।

आगामी १७ तारिखको स्थानीय समय अनुसार दिउँसो ३ बजे सेन्ट जर्ज च्यालेसमा अन्तिम संस्कार कायक्रम शुरु हुने भएको छ। समाचार स्रोतका अनुसार, कोरोनाका कारण अन्तिम संस्कारमा सर्वसाधारणलाई उपस्थितिका लागि स्वीकृति नदिने भएको छ। सीमित व्यक्ति मात्र उक्त अन्तिम संस्कारमा सहभागी हुन पाउने बताइएको छ ।

यसैबीच, बेलायती राजकुमार फिलिपको अन्तिम संस्कारमा प्रधानमन्त्री बोरिस जोन्सन पनि उपस्थित नहुने भएको छ। प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटले जोन्सन राजकुमार फिलिपको अन्त्येष्टिमा उपस्थित नहुने जानकारी दिएको हो।

प्रधानमन्त्रीको कार्यालयका अनुसार राजकुमारको परिवार र नजिकका मानिसलाई स्थान दिनका लागि जोन्सन अन्तिम संस्कारमा नजाने भएको हो।
प्रकाशन मिति–२०७७ साल चैत्र २९ गते आइतवार ।