लण्डन। बेलायतमा झन्डै दश लाख मानिसले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले डिसेम्बर ३१ साँझसम्म नौ लाख ४४ हजार ५३९ ले फाइजर बायोएनटेक भ्याक्सिनको पहिलो डोज लगाएको वताएका छन्।

फाइजर बायोएनटेकको भ्याक्सिनलाई बेलायतले सबैभन्दा पहिला आममानिसमा प्रयोगका लागि अनुमति दिएको थियो। बेलायतमा गत डिसेम्बर ८ तारिखबाट फाइजर भ्याक्सिन वितरण शुरु गरिएको थियो। ९० वर्षीया मार्गरेट किनन अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप लिने पहिलो व्यक्ति भएकी थिइन्।

एक व्यक्तिको लागि दुईवटा डोज आवश्यक पर्ने उक्त भ्याक्सिनको दोस्रो डोज पनि लगाउन थालिएको छ । बेलायतले मान्यता दिएको तीन हप्तापछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि फाइजर–बायोएनटेक भ्याक्सिनलाई मान्यता प्रदान गरेको छ ।
त्यसैगरेर,बेलायतले अक्सफोर्ड–एष्ट्राजेनेकाद्वारा विकसित भ्याक्सिनलाई पनि मान्यता दिइसकेको छ। यससंगै कोरोना विरुद्धको दुईवटा भ्याक्सिनलाई मान्यता दिने बेलायत विश्वको पहिलो मुलुक बनेको छ।

आउने सोमबारबाट फाइजर–बायोएनटेकको खोप वितरण गरिने बेलायत सरकारले जनाएको छ। दुवै खोप मिलाएर दुई साताभित्र बीस लाख नागरिकहरुलाई प्राथमिकताको आधारमा खोप वितरण गरिने तयारी गरिएको अधिकारीहरुले जनाएका छन्।

बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएपनि संक्रमितको संख्या र मृत्युदर तीव्र रुपमा बढ्दै गएको छ। पछिल्ला केही दिनमा सार्वजनिक सरकारी तथांक अनुसार झन्डै दैनिक एक हजारको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भएको छ भने ५५ हजार भन्दा बढी संक्रमित थपिने गरेका छन्।
प्रकाशन मिति–२०७७ साल पुस १८ गते शनिवार ।