काठमाडौं । बेलायतवाट निर्मित कथानक नेपाली चलचित्र कैदीको पत्र बेलायतवाटै एक पछि अर्को शहरमा सफल प्रदर्शन पश्चात अव नेपालमा पनि प्रदर्शन हुने भएको छ। बेलायतको स्कटल्याण्डमा बढी छायाँकन भएको चलचित्र कैदीको पत्र बेलायतको स्कटल्याण्डवाटै फस्ट रिलिज भएयता हाल बेलायतका विभिन्न शहरमा एक पछि अर्को शो भैरहेको बर्तमान अवस्थामा नेपालमा पनि अव प्रदर्शन हुने पक्का भएको हो।

नेपालमा प्रदर्शनको अधिकार पाएका चर्चित चलचित्र वितरक करण क्रेजीका अनुसार, आगामी नयाँ बर्ष २०८० सालको बैशाख १५ गतेवाट नेपालमा चलचित्र कैदीको पत्र प्रदर्शन हुने भएको छ। त्यसको तयारीका लागि चलचित्र कैदीको पत्रका बहुचर्चित निर्देशक सनम कुमार बैराग बेलायतवाट नेपाल आइसकेका छन्।

बेलायतको राजधानी लण्डनमा चलचित्र कैदीको पत्रले तहल्का नै मच्चाएको छ। लण्डनमा सर्वत्र यस चलचित्रको व्यापक तारिफ भएको कुरालाई उल्लेख गर्दै नेपाल आएका निर्देशक बैरागले नेपालमा पनि नेपाली दर्शकको अपार माया पाउने आशा व्यक्त गरेका छन्। नेपाल वाहिर परदेशवाट निर्मित नेपाली कथानक चलचित्र कैदीको पत्रले बेग्लै पहिचान तथा फरक स्वाद दिएकोमा बेलायतमा चलचित्र हेर्ने दर्शकहरुले चलचित्र त कैदीको पत्र जस्तो पो भनेर खुशीले कमेन्ट गरिरहेको पाइरहेको छ।

ख्यातिप्राप्त कथाकार स्वर्गिय ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रमा आधारित नेपाली चलचित्र कैदीको पत्रको निर्देशन बेलायतमा नै रहेको ख्यातिप्राप्त निर्देशक सनम कुमार बैरागको रहेको छ। निर्देशक बैरागको अथक मेहनत तथा परिश्रमले चलचित्र कैदीको पत्रले सार्थकता प्राप्त गरेको छ।

स्कटल्याण्डको क्रीफ, आबरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोमा छायाँकन भएको चलचित्र कैदीको–पत्रको केही प्रतिशत छायाँकन लण्डनमा पनि भएको हो। निर्देशक बैरागका अनुसार, चलचित्र कैदीको–पत्र नेपालबाट अध्ययनको क्रममा बेलायत आएका एक युवकको कथा हो। जसको स्कटिस् युवतीसंगको प्रेम हुन्छ। त्यस युवकले खुशीलाई सम्हाल्न सक्दैन र त्यसबाट निम्त्याएका दुःखले युबकलाई कुन हदसम्म पुर्याउछ भन्ने कथावस्तु चलचित्र कैदीको–पत्रले बोकेको छ।

कैदीको पत्रमा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।

प्रकाशन मिति–२०७९ साल चैत्र १२ गते आइतवार ।