काठमाडौं। बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि निःशुल्क दिवा सेवा प्रदान गर्दैआएको संस्था नै संकटमा परेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ स्थित भैरबचोक गोकर्णमा रहेको निःशुल्क दिवा सेवा प्रदान गर्दैआएको स्वस्थ समाज नेपाल नामक संस्था संकटमा परेको हो।

विगत ६ बर्षदेखि निरन्तर बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि निःशुल्क दिवा सेवा प्रदान गर्दैआएको स्वस्थ समाज नेपाललाई आर्थिक समस्याको कारण संकट उत्पन्न भएको हो। विशेषत सुन्दरीजलदेखि गोकर्ण मन्दिर परिसरसम्मका स्थानीय १५ जना बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई पिकअप एण्ड ड्रप गर्ने भ्यान तथा तिनको ड्राइभरको खर्च जुटाउन नै व्यापक कठिनाइ उत्पन्न भएको स्वस्थ समाज नेपालकी अध्यक्ष सीता श्रेष्ठले भिजन संसार डटकमलाई बताएकी छन्।

मासिक ६० हजार खर्च हुने गरेको स्वस्थ समाज नेपालको खर्च जुटाउन ऋण लिएर बौद्धिक अपाङ्गता भएका बालबालिकालाई निःशुल्क दिवा सेवा प्रदान गरिरहेको बर्तमान अवस्थामा त्यो पनि धान्न ज्यादै कठिनाइ भैसकेको यथार्थता अध्यक्ष श्रेष्ठले खुलासा गरेकी छन्। सहयोग र दान दातव्यतावाट संस्था चलिरहेको भएतापनि भ्यान तथा भ्यान ड्राइभरको खर्च जुटाउन नसक्दा कठिनाइ भैरहेको अध्यक्ष श्रेष्ठको भनाई छ।

तीन महिनायता अत्यन्त नाजुक अवस्थामा नै पुगिसकेको कारण बौद्धिक अपाङ्गता भएका बालबालिकालाई पिकअप एण्ड ड्रप गर्ने भ्यान तथा तिनको ड्राइभरको खर्च व्यहोर्ने कोही दयालु भएमा संस्थालाई निरन्तरता दिन सहज हुने अध्यक्ष श्रेष्ठले भनेकी छन्।

अध्यक्ष श्रेष्ठले स्वस्थ समाज नेपालमा आवद्ध बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि निःशुल्क दिवा सेवा प्रदान गर्न लाखौं लाख ऋण व्यक्तिगत रुपमा पनि लिएर धान्ने कोशिश गरिरहेकी छन्। घरबार नै बेचेर तिर्नुपर्ने नाजुक अवस्था आउन लागेको तितो सत्य ओकल्ने कार्य अध्यक्ष श्रेष्ठवाट भएको छ। बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको सुधार र तिनको सहयोगका लागि सक्दो सहयोग गरिदिन पनि स्वस्थ समाज नेपालले आव्हान गरेको छ।

सहयोग गर्न चाहने सहयोगी मनहरुले निम्न ठेगानामा संपर्क गरेर सहयोग गर्न सकिन्छ ।

–सीता श्रेष्ठ (अध्यक्ष–स्वस्थ समाज नेपाल ) गोकर्ण, काठमाडौं। फोन नंबर–9841958266 

प्रकाशन मिति–२०७६ साल माघ २६ गते आइतवार ।