भक्तपुर। भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र भाद्र मसान्तसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ। निषेधाज्ञा खुकुलो बनाएर उपत्यकाको तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात जोर–बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न अनुमति दिए पनि भक्तपुर नगरपालिकाले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको हो ।

नगरभित्रबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नम्बर १, ७ र ९ मा चल्ने छोटो दूरीका यातायातहरू भाद्र ३१ गते सम्मका लागि बन्द गर्ने निर्णय भएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको भनाइ छ।

नगरपालिकाले यातायात व्यवसायीसँगको छलफलबाट भाद्र मसान्तसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय भएको मेयर प्रजापतिले बताए।
त्यसैगरी, मेयर प्रजापतिको अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले सुरक्षाका उपाय अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

व्यवसायीहरुले मास्क, पञ्जा लगाई शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्न आग्रह गरेको मेयर प्रजापतिले बताएका छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र २६ गते शुक्रवार ।