नेपालगञ्ज। भारतका विभिन्न स्थानबाट सोमबार बिहान नेपाल प्रवेश गरेका नेपाली सरकारले व्यवस्था गरेको क्वारेन्टाइनबाट भागेका छन्।

कान्तिपुर दैनिकको अनलाइन संस्करण अनुसार, जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्ज उपमहानगरले उद्धार गरी नेपाल ल्याएको थियो। आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भनेर आन्दोलन उनीहरुले गरेका थिए। निकै सानो संख्यामा रहेका सुरक्षाकर्मीले सम्झाउँदा नमानेका उनीहरु पर्खाल चढेर क्याम्पस क्वारेन्टाइनबाट निस्किएका हुन्।

कोही खेतमा पुगेर लुके कोही टेम्पु चढेर हिँडे, आफूहरुले रोक्न नै नसकेको प्रहरीको भनाई रहेको छ। बिहान १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमा नाका नजिकै महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगिराखिएको थियो।

क्वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०–३५ जनालाई राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए। क्वारेन्टाइन व्यवस्थापन गरेको उपमहानगरकी उपमेयर उमा थापाले भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट भागेको पुष्टि गरेकी छन्।
प्रकाशन मिति–२०७६ साल चैत १० गते सोमवार ।