Dharahara 1काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्प स्मृति दिवसमा यही वैशाख १२ र १३ गते विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको समितिको बैठकले गृहमन्त्रालयको आयोजनामा १२ गते भूकम्पमा परी दिवङ्गत भएकाप्रति धरहरा परिसरमा बिहान ८ बजे श्रद्धाञ्जलिसहित पुष्पगुच्छा अर्पण गर्ने निर्णय गरेको हो। बैठकले भूकम्प प्रभावित जिल्लामा समन्वय समिति वा उपसमितिको निर्णयअनुसार श्रद्धाञ्जलि कार्यक्रम गर्ने निर्णय गरेको पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।

समितिले भूकम्पमा परी दिवङ्गत भएकाप्रति श्रद्धासुमन अर्पण गर्न १२ गते बेलुका माइतीघर मण्डलामा र प्रभावित जिल्ला एवम् स्थानीयस्तरमा जिविसको व्यवस्थापनमा मैनबत्ती प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ। भूकम्प अति प्रभावित ११ वटा जिल्लामा सर्वेक्षण सम्पन्न भएका गाविसमा आवास अनुदान प्राप्त गर्नयोग्य लाभग्राहीको जिविस, गाविस तथा नगरपालिकामा सूची प्रकाशन गरी अनुदान सम्झौता प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ ।

भूकम्प गएको एक वर्ष बितेका दिन पारेर प्रत्येक जिल्लामा कम्तीमा एक-एकवटा सामुदायिक आवास भवनको निर्माण कार्य शुभारम्भ गर्ने तयारी गरिएको छ। त्यसैगरी वैशाख १३ गते प्रत्येक जिल्लामा शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कम्तीमा एक÷एकवटा विद्यालय तथा स्वास्थ्य संस्थाको भवनको पुनःनिर्माण कार्यको शुभारम्भ गरिनेछ ।

काठमाडौँ उपत्यका भित्रका खड्ग योगिनी मन्दिर साँखु, अनन्तपुर–स्वयम्भूनाथ, वंश गोपाल मन्दिर–हनुमान ढोका, फसी देग–भक्तपुर, मणिमण्डप–ललितपुर र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अन्य कार्यक्रम पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण कार्यको पुरातत्व विभागले गर्ने निर्णय गरिएको छ । रासस
प्रकाशन मिति–२०७३ साल बैशाख ७ गते मंगलवार ।