Gold 2काठमाडौ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उतारचढाव भएपछि नेपाली बैंकबाट सुन बिक्न छाडेको छ। व्यवसायीले सुन नकिन्दा करिब ३ सय ६९ किलो सुन थन्किएको बैंकरहरू बताउँछन्। बैंकहरूलाई मात्रै सुन आयात गर्ने अनुमति भएकाले उनीहरूले ल्याएको सुन व्यवसायीले नकिनिदिएपछि थन्किएको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेपछि सुनका गहना किन्नेभन्दा बिक्री गर्न आउने सर्वसाधारणको संख्या बढेकाले बैंकको सुन उठाउन छोडेका हुन्। माघमा सुनको भाउ प्रतितोला ४९ हजार रुपैयाँ थियो । फागुनमा भाउ ह्वात्तै बढ्यो । गत शुक्रबार प्रतितोला सुन ५५ हजार २ सयमा बिक्यो।

सुनको भाउ बढ्दा फागुनमा लगनको सिजन भए पनि कारोबारमा वृद्धि नभएको महासंघको भनाइ छ । सामान्य अवस्थाभन्दा लगनमा सुनको कारोबार उच्च हुन्छ । बढी बिक्री हुने समयमा व्यवसायीले दैनिक कोटा बढाउन दबाब दिन्छन् ।

तर, सिजनमै बैंकको सुन नउठ्नुमा अबैध सुनको बिक्रीले बजार धानेको बैंकरहरू बताउँछन् । बैंकमा सुन थन्किएपछि केही बैंकहरूले सुन आयात गर्न पनि छाडेका छन्। लामो समय भण्डारण र बिमा, भाउ उतारचढावको जोखिम पनि भएकाले आयात नगरेको उनीहरूको दाबी छ।
प्रकाशन मिति–२०७३ साल बैशाख ७ गते मंगलवार ।