काठमाडौंं। सवैको मनको कामना पूरा गरिदिने भगवती माताको रुपमा अत्यन्त प्रसिद्धि पाएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आज शनिवार देखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइएको छ।

कोभिड–१९ (कोरोनाभाइरस) को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पूजारी इन्सान थापामगरको भनाई रहेको छ। नेपाल सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्याधिक दर्शनार्थीको भीड हुने मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको पूजारी थापामगरले भनेका छन्।

मनकामना मन्दिरमा दैनिक करिब ३ हजार ५ सय भन्दा बढी सर्वसाधारण भक्तजनले पूजा गर्ने गरेका छन् । यसअघि जिल्ला सुरक्षा समितिको बैठकले पनि कोरोनाको सङ्क्रमणबाट सुरक्षित हुन भन्दै मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको थियो।

बैठकले अर्को सूचना जारी नभएसम्मका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भनेका छन्। अब मनकामना मन्दिरमा नित्य पूजा र साँझको आरती पूजा मात्र हुने भएको छ।
प्रकाशन मिति–२०७६ साल चैत ८ गते शनिवार ।