काठमाडौ। मनको मनोकामना पुर्याइदिने देवीको रुपमा विश्वविख्यात नेपालको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा हालसम्म १५ किलो सुन खर्च भैसकेको खुलासा भएको छ। मन्दिर जीर्णोद्धारका क्रममा मन्दिरमा सुनको जलप लगाउन नपुगेपछि थप ३ किलो सुन खरिद गरिएको तथ्य सार्वजनिक भएको छ।

जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले अनलाइन खवर प्रतिनिधिलाई बताएरअनुसार तीन किलो सुन नपुगेर काम रोकिएको थियो। उक्त नपुग सुन ल्याइसकेकोले हाल काम धमाधम भैरहेको छ। मनोकामना मन्दिरका लागि १८ किलो सुन लाग्ने निश्चित भएको छ।

मन्दिर जीर्णोद्धारका लागि पुरातत्व विभागबाट निकासा भएको चार करोड रकमले सात किलो सुन खरिद गरिएको थियो। समितिले भक्तजनबाट संकलित रकमबाट थप आठ किलो सुन खरिद गरेर छाना बनाउने काम भइरहेको थियो। तर त्यसले पनि अपुग भएपछि तीन किलो सुन खरिद गरिएको हो।

यसअघि मन्दिरको छानामा मात्र सुनको जलप लगाउने निर्णय भएको थियो। तर काम गर्दे जादा मूलढोका, कंकालको मूर्ति, तोरण र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने निर्णय भएको हो। सुन खरिदका लागि करिब दश करोड रुपैयाँ खर्च भइसकेको समितिका संयोजक श्रेष्ठको भनाई रहेको छ।

गोरखा जिल्लामा अवस्थित मनकामना मन्दिर जीर्णोद्धारमा १३ करोड रुपैयाँ खर्च भइसकेको समितिको हिसाब छ। भक्तजनबाटै आठ करोड रुपैयाँ उठेको समितिले भनेको छ। जसमा स्थानीयले पनि सहयोग गरेका छन्। मन्दिर जीर्णोद्धारको काम करिब ९८ प्रतिशत सकिएको छ।

अब आँगनमा ढुङ्गा छाप्ने र छेउछाउमा पर्खाल लगाउने काम मात्र बाँकी रहेको छ। यो बर्षको दशैंसम्म भक्तजनहरुले मन्दिरवाटै पूजा गर्ने व्यवस्था मिलाउने गरी समितिले काम गरिरहेको छ। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण मन्दिर ढल्किएपछि पूर्णरुपमा भत्काएर पूर्नरनिर्माण गरिएको हो।
प्रकाशन मिति–२०७५ साल भदौ ७ गते विहीवार ।