काठमाडौँ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मरेपछि पनि सपना देख्ने चाहना व्यक्त गरेका छन्। अत्याधिक सपना देख्ने प्रधानमन्त्रीको रुपमा रेकर्ड राखिसकेका प्रधानमन्त्री ओलीले आफ्नो कविता बाचनका क्रममा कवितामा त्यस्तो चाहना व्यक्त गरेका हुन्।

हिमवत् खण्ड साहित्य कला सम्मेलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै प्रधानमन्त्री ओलीले कविता बाचन गरेर मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका हुन्।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मिलनको अन्तिम दिन आइतवार दिनभरजसो चन्दागिरिमा रहेका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने र बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेको हो।

आफू साहित्य र कला सिर्जना गर्न चाहेर पनि समयले नभ्याउने भन्दै ओलीले सहभागीको आग्रहमा  सात मिनेट लगाएर शीर्षकरहित नौ लाइनको कविता रचेका थिए। प्रधानमन्त्री ओलीको पञ्चायतकालमा लेखिएको “खर्पन” कविता केही वर्षअघि सार्वजनिक भएको थियो।

ओलीले जेल जीवनमा धेरै कविता र गीत लेखेका भएतापनि उनी आफूलाई कवि तथा गीतकार भन्न भने रुचाउंदैनन्।

प्रस्तुत छ–प्रधानमन्त्री ओलीले चन्द्रागिरिमा सात मिनेटमा लेखेर बाचन गरिएको कविता

“परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र रु

बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ

मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयोस् कमसेकम

सगरमाथा, लुम्बिनी, मेची र महाकाली

हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली

सपनामा भए पनि देख्न पाउँ

चन्द्रागिरिको डाँडोमा आएर सपनामा

भावी सन्तति मुस्कुराइरहेको देख्न पाउँ

तिनको हँसिलो मुहारको तस्बीर खिच्न पाउँ

मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।”

प्रकाशन मिति–२०७५ साल असार ३१ गते आइतवार ।