काठमाडौं। काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला न्यायाधीश दिपककुमार दाहालको इजलाशले अरु तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। महराका वकिलहरुले भने उनलाई रिहा गर्न माग गरेका थिए। उनलाई अब आउँदो आइतबार अदालतमा पेश गरिने छ।

आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका महरा असोज १९ गतेदेखि प्रहरी हिरासतमा रहेका छन्। अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि महरालाई मंगलवार अदालतमा उपस्थित गराइएको थियो।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरिएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्रेको थियो। सरकारी वकिल कार्यालयले पक्राउ परेको दिनदेखि लागू हुने गरी १३ दिन हिरासतमा राखेर महराबारे अनुसन्धान गर्न अनुमति दिन माग गरेको थियो। महरा दश दिन हिरासतमा बसिसकेका छन्। महरा बिरामी भएकोले उनको बयान लिन नसकिएको र बयान लगायतका अनुसन्धानका लागि अझै तीन दिन हिरासतमा राख्नुपर्ने सरकारी वकिल उमाकान्त पौडेलले बहसका क्रममा भनेका थिए।

काठमाडौं। जिल्ला अदालतको अनुमतिमा प्रहरीले असोज १९ गते महरालाई पक्राउ गरेको थियो। दश दिन प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो। महरालाई अनुसन्धानका लागि थुनामा राखेपनि यो बीचमा दशैं र अरु सार्वजनिक बिदा परेकाले अदालतमा उपस्थित गराउन ढिलो भएको हो।

प्रहरी हिरासतमा रहेका महराको मुटु र स्वाशप्रस्वासमा समस्या देखिएपछि गत विहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उनलाई त्यहीबाट अदालत लगिएको हो। अदालतबाट म्याद थप गरिएका महरालाई पुनः नर्भिक अस्पताल नै फर्काइएको छ। असोज १२ गते राति आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका छन् भने सांसद पद पनि निलम्बनमा परेको छ।
प्रकाशन मिति–२०७६ साल असोज २९ गते बुधवार ।