काठमाडौं। रोशनी शाहीसंगको यौनकाण्ड प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले शनिबारदेखि लागू हुनेगरी अझै पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। आइतबार प्रहरीले सात दिनको अनुमति मागेकामा न्यायाधीश बाबुराम सुवेदीको इजलासले पाँच दिनको म्याद दिएको हो।

यसअघि थपिएको म्याद शनिबार सकिएकाले सोहीअनुसार म्याद थप गरिएको हो। आइतबार अदालतमा उपस्थित गराउनुअघि महरालाई सरकारी वकिलको कार्यालय लगी बयान लिइएको थियो। करिब सात घन्टा बयान लिएपछि साँझ ५ बजेपछिमात्रै अदालत पुर्‍याइएको थियो। म्याद थपिएपछि महरालाई पुनः नर्भिक अस्पताल नै फर्काइएको छ।

पक्राउलगत्तै उच्च रक्तचाप र मुटुमा समस्या देखिएको भन्दै महरा नर्भिक अस्पतालमा बस्दै आएका छन्। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई गएको असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो।

यसैबीच, पीडित भनिएकी महिला रोशनी शाहीले आफूलाई प्रहरीले जबर्जस्ती महराविरुद्ध बयान गराइ उजुरी दिन लगाएको दाबी गर्दै आइतबार अदालतसमक्ष जाहेरी दिएकी छन्।

महरालाई म्याद थपका लागि अदालत पुर्‍याइएकै बेला आफ्ना पति चित्रजंग शाहीसँगै अदालत पुगेकी रोशनीले यस्तो दाबीसहितको जाहेरी दिएकी हुन्। रोशनी शाहीले महरा र आफ्नो पारिवारिक सम्बन्ध रहेको र आफूमाथि बलात्कार प्रयास नभएको जिकिर पनि गरेकी छन्।

पटक–पटक बयान फेर्दै आएकी रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीले यसअघि आफूहरु ‘डिभोर्स’का लागि सहमत भएको भन्दै सामाजिक सञ्जालवाट वक्तव्यबाजीसमेत गरेका थिए।
प्रकाशन मिति–२०७६ साल कात्तिक ३ गते आइतवार ।