काठमाडौं। नेपालमा पश्चिमी वायुको प्रभावका कारण बुधबार अधिकांश स्थानमा पानी परेको छ। गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी विहान ९ बजेसम्म पनि परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावत पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेको छ। नेपालको पश्चिम क्षेत्रमा सोमबारदेखि नै बदली हुँदै आएको भएपनि हिजोदेखि पानी पर्न थालेको हो। वायुको प्रभाव पूर्वसम्मै विस्तार हुँदै गएकाले आज पनि दिनभर जसो पानी पर्ने सम्भावना रहेको महाशाखाले भनेको छ।

यो वर्षको हिउँदमा पूर्वदेखि पश्चिम अर्थात देशका सबै क्षेत्रमा पानी परेको यो पहिलो पटक हो। काठमाडौं उपत्यकासहित देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र पानी पर्ने तथा रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। हिमपातका कारण पहाडि र हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ। योसँगै चिसो पनि निकै बढेको छ। भोलिदेखि भने मौसममा सुधार आउने बताइएको छ।

माघमा पानी परेपछि धेरैले कठिनाई महशुश गरेका छन्। चिसोले निमोनिया हुने रोगीहरु पनि बढेको पाइएको छ। चिसोवाट बच्न स्वास्थ्य मन्त्रालयले सवैलाई अनुरोध पनि गरेको छ।


प्रकाशन मिति–२०७५ साल माघ ९ गते बुधवार ।