Asar 15 gate 1काठमाडौ। मुठी रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १४ औँ राष्ट्रिय धान दिवस परेको छ। रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ।

विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए। राष्ट्रसङ्घले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो। विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो।

विश्वको जनसङ्ख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो। नब्बे ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ। नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने धानविज्ञहरुको अनुमान रहेको छ। नेपालको कुल गार्हस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ। कृषिमा ६०.४ प्रतिशत जनसङ्ख्या आश्रित छन्।

Asar 15 gate 3

कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ। हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती हुने गर्दछ । खेती गरिने ५०.२ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे (बोरो) धानको खेती हुन्छ। मनाङ र मुस्ताङबाहेक ७३ जिल्लामा धान खेती हुन्छ। तराई, मध्य पहाड र उच्च पहाडमा नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेको ६३ जातका धानको खेती गरिन्छ। चालु आर्थिक वर्ष २०७३-७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क मन्त्रालयसँग छ।

धान रोपाइँमा दहीच्यूराको संस्कृति
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

Asar 15 gate 2

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन् । यसबेला दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ।
प्रकाशन मिति–२०७४ साल असार १५ गते विहीवार ।