काठमाडौ। मैवाखोला गाउँपालिका वडा नं. ६ निवासी सीता यक्सो नेयाङको दुबै मृगौला फेल भएकोले मृगौला प्रत्यारोपण गर्न आर्थिक सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ। याक्थुङ हाक्पारे पालाम सयङको आयोजनामा यही साउन २६ गते ललितपुरको चुम्लुङहिम शोभाहिटी, ललितपुरमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको हो।

कार्यक्रममा राष्टिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने संस्थाका महासचिव शैलेन्द्र थेवेले बताएका छन्। कार्यक्रममा ताराप्रकाश लिम्बु, देशु सुहाङ, खगेन्द्र यक्सो, बविता फोम्बो, लक्ष्मी योङ्गहाङ्ग, मेरिना चेम्जोङ्ग, उत्तमजंग लिम्बु, कुशल थलङ लगायतका कलाकारको प्रस्तुति रहने भएको छ।

गत महिना कोरियामा कार्यरत विभिन्न व्यक्तित्वहरुबाट एक लाख रकम प्राप्त भएको थियो। उक्त रकम नेयोङ समाज काठमाडौं मार्फत याक्थुङ हाक्पारे पालाम सयङको मातहतमा पिडित स्वयंलाई एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थियो। सहयोग रकम उपलब्ध गराउनु हुनेहरुमा मनिराज, भरत, बिमल, निस्से, विषेश, बिकम, मोहन कुमार, आश कुमार, पूर्ण, धन कुमार, नरु नेयोङ आदि रहेका छन्।

सहयोग सङ्कलन कोरिया, हङ्कङ, बेलायत लगायत बिभिन्न देशहरुमा भैरहेको सयङकी अध्यक्ष रुपा आङ्बुहाङले जानकारी गराउनु भएको छ । नेयोङ समाज काठमाडौंबाट पनि सहयोग जुटाउने काम भैरहेकोे जानकारी समाजका संयोजक योगेन्द्र नेयोङले दिएका छन्।
प्रकाशन मिति–२०७५ साल साउन १९ गते शनिवार ।