–उत्तम भौकाजी

तिम्रो इर्ष्यालाई
सम्मान गर्न मन लाग्छ,
तिम्रो जलनलाई
स्वपान गर्न मन लाग्छ
सक्छौ यदि भने
आऊ, मेरो छेउ
लिएर तिम्रो कठोर मुटु

मेरो मुटुसंग तिम्रो मुटु
साटासाट गर्न चाहन्छु ।
त्यसपछि ,
स्वत–समाप्त हुनेछन्
तिम्रा ती जलनहरु ।।।
र , आफै निभ्नेछन् ,
रिसले भरिएका आगाका लप्काहरु ।।।
त्यतिखेर
प्रयोगमा ल्याउन ठिक्क पारिएका
ती पानीका समुद्रहरु
लाजले आफै
पानी–पानी भएर
बाफ बनी उडिसकेका हुनेछन् ।
र, त्यतिखेर बांकी हुनेछौं,
मात्र हामी दुई
केवल तिमी र म ।

(आज अगष्ट ५ तारिख विश्व मित्रता दिवसको अवसरमा कवि तथा साहित्यकार अनि ख्यातिप्राप्त गीतकार उत्तम भौकाजीले आफ्ना प्रिय ज्ञात–अज्ञात शत्रुहरु प्रति समर्पित गरेर कोरिएको यो बेजोड कविता यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको हो।–— सम्पादक)

प्रकाशन मिति–२०७५ साल साउन २० गते आइतवार ।