काठमाडौं। नेपाली आधुनिक साहित्यमा यथार्थवाद खोज्ने अग्रज साहित्यकार ओमशंकर श्रेष्ठको कथा संग्रह यथार्थ लोकार्पण भएको छ। नेपाल सरकारका संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले भर्चुअल रुपमा कथा संग्रह यथार्थको विमोचन भएपछि सार्वजनिक भएको हो।

भर्चुअल रुपमा नै राजनीतिज्ञ हिसिला यमीको कथा संग्रहको विशेष टिप्पणी सहितको शुभकामना सन्देश सहित भौतिक रुपमा भएको लोकार्पण समारोहमा कथा संग्रहको समालोचना स्वागत नेपाल तथा अभय श्रेष्ठले गरेका थिए । भाषा अगुवा तथा सञ्चारकर्मी अनुपसिंह सुवाल लगायतले कथा संग्रहको वारेमा टिप्पणी गर्दै यथार्थवादी कथाकार ओमशंकर श्रेष्ठको यथार्थ कथा संग्रह सामाजिक यथार्थवादी कथा भएको खुलासा गर्ने कार्य भएको थियो ।

कथा संग्रहका प्रकाशक डिकुरा पब्लिकेसन्सका अध्यक्ष पुण्य प्रसाईले कथा संग्रह यथार्थले यथार्थतालाई आगोसरी बोलेको स्पष्ट पार्दै मुलुकमा राजनीतिक अस्थिरता तथा नेताहरुको बेइमानीको कारण श्रीलंकामा भन्दा अझ बढी ठूलो आर्थिक संकट आउन लागेको भविष्यवाणी समेत गर्न चुकेनन्।

कार्यक्रममा कथाकार श्रेष्ठले आफूसंग प्रकाशन्मुख दुई उपन्यास रहेको र साहित्य सिर्जनामा व्यावसायिक रुपमा अनवरत लाग्दैजाने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल लगायतका शैक्षिक तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रकाशन मिति–२०७८ साल चैत १९ गते शनिवार ।