भक्तपुर। तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा आइतवारदेखि सुरु भएको छ ।

नयाँ वर्षको चार दिन अगाडिवाट सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको आइतवार पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ। भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गरेको बिस्केट जात्राको पहिलो दिन आइतवार भैरव र भद्रकालीको पूजा गरेपछि साँझबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु भएको हो ।

आइतवार साँझ तौमढी (पाँचतले मन्दिर) अगाडिबाट भैरवको रथ तान्न सुरु भएको थियो । तौमढीबाट माथि र तलका बासिन्दाबीच रथ तानातान गर्ने क्रममा रथ गहिँटी पुगेर घरमा ठोक्किएर रोकिएपछि तल्लो र माथिल्लो दुवै तर्फबाट ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले रथ तान्ने क्रममा गहिँटी पुगेर घरमा ठोक्किएपछि ढुङ्गा हानाहान भएको राससलाई जानकारी दिएको हो। स्थिति सामान्य हुँदै गएको दाबी गर्दै घाइतेको विवरण र जानकारी भने नआएको प्रहरी नायब उपरीक्षक पाण्डेको भनाई छ।

प्रहरीले जात्रामा शान्ति सुरक्षाका लागि भन्दै उपत्यकाका तीनवटै जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक हजार ४५० सुरक्षाकर्मी परिचालन गरेको छ । प्रहरीले जात्रामा हस्तक्षेप गर्दा जात्रा हिंसामा परिणत हुन सक्ने भएपछि प्रहरीले जात्रामा हस्तक्षेप भने नगरेको जनाएको छ ।

परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्रले लैजान सके क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, दत्तात्रयसम्म पु-याइ फर्काउने प्रचलन छ ।

प्रकाशन मिति–२०७८ साल चैत २७ गते आइतवार ।