काठमाडौं। विगत दुई दशक देखि नेपाली पत्रकारितामा अनवरत क्रियाशील पत्रकार सुनिल महर्जन राष्ट्रपतिवाट विभूषित बनेका छन्। विहीवार राष्ट्रपति भवनमा आयोजित विभूषण कार्यक्रमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीवाट ललितपुरका पत्रकार महर्जनलाई जनसेवाश्री पदवी पञ्चमबाट विभूषित बनेका हुन्।

२०५९ सालमा महानगर दैनिकमा प्रशिक्षार्थी पत्रकार हुँदै महर्जनले २०६० साल श्रावणदेखि नेपाल समाचारपत्र दैनिक मार्फत पत्रकारिता शुरु गरेर सोही दैनिकमा अनवरत रुपमा कार्यरत रहदैआएका छन्। पत्रकार महर्जनले पत्रकारिता मार्फत बुद्धधर्मको विकास, मूर्त र अर्मूृत संस्कृति, सम्पदाको संरक्षण र ललितपुरका बृहत सरोकारको विषयमा योगदान पु-याउँदै आएका छन्। नेपाल समाचारपत्र दैनिकमा सहायक सम्पादक रहेका महर्जनले निजामती प्रशासन, संघीयता, स्थानीय तह विषयमा निरन्तर रिपोटिङ गर्दैआएका छन्।

यसका अतिरिक्त पत्रकार महर्जन नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय महासचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय सदस्यको रुपमा समावेशी पत्रकारिता र मातृभाषाको पत्रकारिता विकासमा क्रियाशील छन्। बौद्ध युवा कमिटी ललितपुरका पूर्वअध्यक्ष समेत रहेका महर्जन मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको महासचिव, बुद्ध विहार पुनःनिर्माण समितिको सहसचिव समेत रहेका छन्। राष्ट्रिय युवा महासंघ नेपाल ललितपुर मार्फत युवा परिचालन र नागरिक मैत्री प्रहरी प्रशासन निर्माणको अभियानमा पनि महर्जन को सक्रियता रहेको छ।
प्रकाशन मिति–२०७९ बैशाख १ गते विहीवार ।