काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् SEE एसइईको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले विहीवार अपरान्ह यस बर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइईको नतिजा सार्वजनिक गरेको हो।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण भएका छन् भने, प्राविधिकतर्फ ९ हजार ६३३ जना उत्तीर्ण भएका छन्। जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या १७५८० रहेको छ। त्यस्तै जीपीए ३.२० देखि जीपीए ३.६० ल्याउने परीक्षार्थीको संख्या ५११३७ रहेको छ। त्यस्तै जीपीए २.८० देखि जीपीए ३.२० ल्याउने परीक्षार्थीको संख्या ६३७४१ रहेको छ। जीपीए २.४० देखि २.८० ल्याउने परीक्षार्थी ७६५६४ रहेका छन् । त्यस्तै २.०देखि २.४० ल्याउने परीक्षार्थी ९८२०७ रहेका छन्।

त्यस्तै जीपीए १.६० देखि २.० जीपीए ल्याउने परीक्षार्थी ९५३०७ रहेका छन् । त्यस्तै जीपीए १.२० देखि १.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ४३८४१ रहेको छ। परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको जानकारी परीक्षा नियन्त्रण कार्यालयले दिएको छ। संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

प्रदेश १ बाट ८३ हजार ६ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, प्रदेश ३ बाट १ लाख हजार २, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट ३५ हजार ६ सय ३४ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सामेल थिए ।
परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले वताएका छन्। त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए।

एसईईको नतिजा १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ। यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ। यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ।यसका साथै नेपाल टेलिकमको वेबसाइट  see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ।

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results र नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/  बाट पनि नतिजा हेर्न सकिनेछ । यसमार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ।
प्रकाशन मिति–२०७६ साल असार १२ गते विहीवार ।