काठमाडौं। आज रंगमय फागू पूर्णिमा अर्थात् होली पर्व। काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाउने कार्य भैरहेको छ।

वसन्त ऋतुको आगमनको सुरुवातमा मनाइने यो फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ। मैत्रीपूर्ण पर्वको रुपमा होलीलाई लिइने गरेको छ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ। असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । आज साँझ काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंंडिखेलमा लगी जलाउँछन् । जसलाई होलीका दहन भनिन्छ ।

चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लैजाने गरिन्छ । अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रंगीचंगी ध्वजापताका साथ सिंगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको हो।

विश्वभर आतंकित बनारहेको कोरोना भाइरसका कारण पोहोर–परार जस्तो होलीको खासै रौनकता छैन्। सरकारले पनि सकभर होली नमनाउन आग्रह गरेको छ। जथाभावी कसैको चाहना विपरित रंग तथा लोला हान्न रोक लगाएको छ।
प्रकाशन मिति–२०७६ साल फागुन २६ गते सोमवार ।