काठमाडौं। विश्वमा नेपालको शान तथा गौरब अनि पहिचानको रुपमा रहेको नेपालको मौलिक लिपी रञ्जना लिपीको महाउत्सवमा १० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको दावी आयोजक संस्थाको रहेको छ। विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म शनिवार काठमाडौंको नयाँ सडक बसन्तपुरमा आयोजित उक्त महाउत्सवमा त्यति धेरै दर्शकले एकैदिनमा अवलोकन गरेको हो।

नेपाल लिपी गुठीको आयोजनामा भएको महाउत्सवमा रञ्जनालिपी, नेपाललिपी र भुजिंम्वललिपी प्रयोग गरेर सिर्जना गरेका डिजिटल डिजाईन, डूडल, काष्ठकला, मण्डला आर्ट, छ्वालि आर्ट, मेटल तथा माटो कला, ब्रासलेट, एअररिंग, मैन कला, बुकमार्क, कालभैरव, रञ्जनाघडी, तथा आकर्षक इन्स्टलेशन आर्ट प्रदर्शन गरिएको थियो।

सिर्जनाको सिलसिलामा भर्खरै एसइइ सकेका अंशु श्रेष्ठले नेवाम्हसिका पाँच अक्षरभित्र १ हजार २० वटा नेवार थरलाई रञ्जना लिपीमा अत्यन्त आकर्षक र कडा मेहनतले लेखेको कला सवैको आकर्षणको केन्द्र बनेको थियो।

६५ बर्षका वरिष्ठ कलाकार आशाकाजी थकुले ८ फिट लामो र ३ फिट चौडा रञ्जना लिपीमा प्रस्तुत कुताक्षर कला पनि दर्शकहरुको नजरमा उत्कृष्ट बनेको थियो। उक्तकुताक्षरमा क देखि ज्ञ सम्मको ३६ वटा अक्षरलाई पहिलो चोटी एकै ठाँउमा गाँसेर लेखेको जानकारी संचारविद निर्मल बज्राचार्यले भिजन संसार डटकमलाई दिएका छन्। त्यसको अलावा दर्शक आफैले पनि रञ्जना लिपी लेख्ने अभ्यास भएवाट यस लिपीप्रति सवैको आकर्षण रहेको दावी पनि संचारविद बज्राचार्यको रहेको छ।


प्रकाशन मिति–२०७६ साल असार १४ गते शनिवार ।