काठमाडौं। विसं.२०६५ साल फागुन १५ गते देखि सर्वसाधारणका लागि खुल्ला गरिएको नारायणहिटी राजदरवार नेपाली जनताको खुल्दुलीको रहस्य र आकर्षणको केन्द्र बन्दैगएको छ।

शाहबंशका लोकप्रिय राजा बीरेन्द्रको नासोको रुपमा रहेको नारायणहिटी राजदरवारलाई सरकारले संग्रहालयको रुपमा विकास गरेपछि शाहवंशीय राजाहरुको अध्ययन–अनुसन्धान गर्नेहरुको लागि थप आकर्षणको केन्द्र बनेको हो। नारायणहिटी राजदरबार संङ्ग्रहालयमा नयाँ विशेषताहरू पनि थपिने भएको छ।

नेपालमा राजतन्त्रको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा नारायणहिटी राजदरवार संग्रहालयमा देखाइने बीबीसीले उल्लेख गरेको छ। हालसम्म प्रदर्शनीमा नराखिएका राजसंस्थाले प्रयोग गर्ने हेलिकोप्टर, हवाई जहाजदेखि, बग्गी र अन्य सवारीसाधन समेत प्रदर्शनीमा राखिने छन्।

संस्कृति मन्त्रालय मातहत नारायणहिटी राजदरवार सङ्ग्रहालय रहेको छ। सङ्ग्रहालय सञ्चालनका लागि हालै सरकारले दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गरेको छ।

गठनसँगै उक्त सङ्ग्रहालयको प्रदर्शनीमा ती थप सामाग्री प्रदर्शन गरिन लागेको संग्रहालयका अधिकारीको भनाई छ। सङ्ग्रहालयको कार्यकारी निर्देशक भेषनारायण दाहालले गुरू योजना तयार भइरहेको र त्यो पारित भएसँगै दरबारभित्र आम मानिसले हेर्न चाहेका थप वस्तुहरू प्रदर्शनीका लागि राखिने बताए।
प्रकाशन मिति–२०७६ साल पुस ७ गते सोमवार ।