ललितपुर। रातो मच्छिन्द्रनाथलाई गत मंसीर २६ गते बुङ्गमतीबाट विधिपूर्वक ल्याएर पाटनस्थित मच्छिन्द्र बहालमा राखिएको छ। ललितपुरको बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथ पाटन ल्याएसँगै जात्राका लागि आवश्यक काठको जोहो गर्न थालिएको छ।

कुनै काठ नेपालमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने, कतिपय काठ धेरै ठूलो हुँदा जङ्गलमा सजिलै नपाइने हुँदा अहिलेदेखि नै आवश्यक सामग्रीको जोहो शुरु भएको हो। जात्राका लागि काठ, बेत र डोरी चाहिने गुठी संस्थान ललितपुरले जनाएको छ। रथका लागि आवश्यक हुने कतिपय काठ गोदावरी जङ्गलबाट त कतिपय हेटौँडालगायत स्थानबाट ल्याइने गरेको गुठी संस्थानले ललितपुरले भनेको छ।

गत साल प्रयोग भएर बढी भएका काठ मिलमा सुरक्षित राखिएको छ। तीमध्ये यो वर्ष चाहिने काठको चिरान हुन्छ भने अरू काठ अर्को वर्ष प्रयोग हुन्छ। रथमा आवश्यक हुने धमा पासा अहिले जावलाखेलस्थित पाटीमा सुरक्षित राखिएको छ। मिल्नेसम्म अघिल्लो वर्षको काठ प्रयोग गरिने पनि संस्थानले भनेको छ।

अरू सबै काठको तयारी भए पनि रथको माथिल्लो भागबाट तल्लो भागसम्म आउने लस्सी जातको काठ वैशाखमा मात्रै कटान हुन्छ । यो काठ चाँडै सुक्ने हुँदा काट्नासाथ नै प्रयोग हुन्छ । लामो आकारको र नसुकेको काठ चाहिने हुँदा रातो मछिन्द्रनाथको रथारोहणभन्दा केही समय पहिले मात्रै कटान हुने गरेको हो । झण्डै ५५ फिट लामो लस्सी जातको काठ जात्राका लागि आवश्यक पर्ने संस्थानले जनाएको छ ।
प्रकाशन मिति–२०७५ साल पुष ३ गते मंगलवार ।