काठमाडौं। भारतसंगको नेपालको लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठहर रहेको छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवारको बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका छन्।

‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्वनेपाल हो र पश्चिम भारत हो भन्न्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्छ जे भनेको थियो’ प्रचण्डले भने ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ। यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ। त्यहाँ चीन पनि संलग्न भएको छ, भारत चीनको सम्झौता सहमति भएको हुनाले।’

भारत र चीनबीच लिपुलेक हुँदै ब्यापार विस्तार गर्ने विषयमा विसं.२०७२ सालमा समझदारी भएको थियो। भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि गतवर्ष नै गरिएको सर्वदलीय र सर्वपक्षीय बैठकले राष्ट्रिय सहमतिको वातावरण निर्माण गरेको भन्दै प्रचण्डले त्यो बैठकले प्रधानमन्त्रीलाई ठूलो तागत दिए पनि ठोस रुपमा पहल हुन नसकेको बताए।

सीमा मिचिएको विषयमा नेपालले भारतलाई हालै पत्र पठाउनु उचित भन्दै प्रचण्डले पत्रले मात्र नपुग्ने धारणा राखेका छन्।
अध्यक्ष प्रचण्डले सीमा विवादको विषय अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने बताएका छन्।

कालापानीमा भारतीय सेना झण्डै ६०–६५ वर्ष पहिल्यैदेखि बसिराखे पनि यो समस्या समाधानका लागि किन विगतदेखि नै पहल हुन सकेन भन्ने विषयमा विश्लेषण हुनुपर्ने प्रचण्डको भनाई रहेको छ। यस विषयमा पञ्चायतको पालादेखि अहिलेको सरकारसम्मले के गरे भन्ने पनि समीक्षा गर्नुपर्ने प्रचण्डले भनेका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख २८ गते आइतवार ।