Katyani Mata

काठमाडौ। विजया दशमीको आज छैठौं दिन। आज घर–घरमा कात्यायनी माताको पूजा–आराधना गर्ने काम भैरहेको छ। आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ।

आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । काठमाडौ उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गर्ने कार्य भएको छ।

विजया दशमीमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ । पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ।
प्रकाशन मिति–२०७४ साल असोज १० गते मंगलवार ।