झापा । विद्युत व्यवस्थापनमा कडाई गरेर मुलुकलाई लोडसेडिङ मुक्त बनाउनमा विशेष योगदान पुर्‍याएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नामले गाउँको नाम नै कुलमान घिसिङ राखिएको छ। गाउँमा विद्युत पुगेको खुसीयालीमा झापाको दुई नगरपालिकाको बीचमा रहेको एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको हो।

झापाको कनकाई नगरपालिका ४ र शिवसताक्षी नगरापालिका १० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन्। उक्त गाउँमा २०० घरधुरी रहेका छन्। तीमध्ये १०० घरमा विद्युत् सेवा नहुँदा टुकी बाल्दै आएका थिए।

विजुली भएका घरमा कम हुने समस्याले गाउँवासी हैरान भएका र कुलमानलाई समस्या बताएको केही दिनमा नै गाउँमा विद्युत पुगेकोले गाउँको नाम ‘कुलमान घिसिङ चोक’ राखिएको चोक नामाकरण समितिका अध्यक्ष श्याम ओलीले बताए।

अहिले उक्त गाउँमा भोल्टेजको समस्या समाधान हुनाका साथै टुकी बाल्नुपर्ने बाध्यताको समेत अन्त्य भएको स्थानीय युवा कुमार साँवाले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गाबाट छ किलोमिटर दक्षिण रहेको उक्त गाउँमा कुलमान घिसिङकै फोटो अंकित बोर्डसमेत राखिएको छ । पर्याप्त भोल्टेज भएको विद्युत् आउन थालेपछि किसानले सिँचाइका लागि मोटरसमेत राख्न थालेका छन्।
प्रकाशन मिति–२०७५ साल साउन ४ गते शुक्रबार ।