काठमाडौं। विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका नेपाली खगेन्द्र थापामगरको निधन भएको छ। मगरको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा २८ वर्षको उमेरमा निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति १२ बजे मगरलाई अस्पताल भर्ना गरिएको थियो। मणिपाल अस्पतालको आईसीयूमा भर्ना भएका थापा मगरलाइ शुक्रबार दिउँसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अध्यक्ष मीनवहादुर रानामगरका अनुसार, खगेन्द्रमा मुटुको समस्या थियो । स्वासप्रस्वास, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यकभन्दा बढी हुने समस्या थियो। खगेन्द्रको जन्म बाग्लुङ धुल्लुवासकोट ६ का मा भएको थियो।

विसं.२०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए। त्यतिबेला थापा ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च थिए। थापा १६ वर्षको उमेरदेखि पोखरा सिर्जना चोकमा बस्दै आएका थिए।

रूपबहादुर थापामगर र धनमाया थापामगरको कोखबाट खगेन्द्रको बाग्लुङ धुल्लुबासकोट–६ मा विसं.२०४९ साल असोज १८ गते जन्म भएको थियो। जन्म भएको बेला खगेन्द्र मात्र ६ सय ग्रामका थिए । उनको वजन ५.५ किलोग्राम मात्र रहेको थियो।


प्रकाशन मिति–२०७६ साल माघ ३ गते शुक्रवार ।