काठमाडौं। कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ३० लाखभन्दा बढी पुगेको छ। अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३० लाख ४१ हजार ७ सय ६४ पुगेको छ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ११ हजार १ सय ५९ जनाको मृत्यु भएको छ। संक्रमण पुष्टि भएकामध्ये ८ लाख ९३ हजार ९६७ जना निको भएको पनि सेन्टरले जनाएको छ। पुष्टि भएकामध्ये करिब एकतिहाई संक्रमण अमेरिकामै देखिएको छ। मंगलबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ९ लाख ८८ हजार १ सय ९७ पुगेको छ।

मंगलबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार २ सय ४५ पुगेको छ भने निको हुनेको संख्या एक लाख ११ हजार ५ सय ९ रहेको छ। अमेरिकाको न्युयोर्कमा मात्रै १७ हजार ५ सय १५ जनाको मृत्यु भएको छ। अमेरिकापछि सबैभन्दा बढी स्पेनमा २ लाख २९ हजार ४ सय २२ जनामा संक्रमण देखिएको छ। स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार ५ सय २१ रहेको छ। त्यस्तै इटालीमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ४ सय १४ रहेको छ भने २६ हजार ९ सय ७७ को मृत्यु भएको छ।

त्यस्तै कोरोना संक्रमणबाट मंगलबार बिहानसम्म फ्रान्समा २३ हजार २ सय ९३, बेलायतमा २१ हजार ९२, बेल्जियममा ७ हजार २ सय ७, जर्मनीमा ६ हजार एक सय २६, इरानमा ५ हजार ८ सय ५, ब्राजिलमा ४ हजार ६ सय ३, नेदरल्यान्ड्समा ४ हजार ५ सय १८ र चीनमा ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने केही दिनयता कोरोना संक्रमणबाट मृत्यु भएको छैन्। त्यस्तै संक्रमण पनि नियन्त्रणउन्मुख रहेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार सोमबार ६ जनामा मात्रै संक्रमण देखिएको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख १७ गते बुधवार ।