काठमाडौं। यो बर्षको विश्व स्तनपान दिवसको नारा नै ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने रहेको छ। यो नारासहित यो बर्षको स्तनपान दिवस साउन १७ देखि २३ गतेसम्म नेपालले विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाउने निर्णय गरेको छ।

यस अवसरमा नेपाल सरकार परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा ६६ प्रतिशत महिलालेमात्र पूर्ण स्तनपान गराउने गरेको भन्दै यो संख्या वर्षेनि घट्दै गएको पनि जानकारी गराएको छ।

कार्यक्रममा परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको र दुई वर्षसम्म स्तनपान गराउनेको संख्या ८९ प्रतिशत रहेको खुलासा गरेका छन्। स्तनपान गराउनेमध्ये ८० प्रतिशत महिलाले एक वर्षसम्म स्तनपान गराउने गरेको पनि वताएका छन्। १ प्रतिशत महिलाले भने कहिल्यै स्तनपान नगराउने गरेको पाइएको पनि भनेका छन्।

स्वास्थ्य मन्त्रालयले सन् २०१७ मा गरेको अध्ययनमा छ महिनादेखि दुई वर्षसम्मका ८७ प्रतिशत बालबालिकाले ‘जंक फुड’को प्रयोग गर्ने गरेको देखाएको थियो। अध्ययनले बढीजसो शल्यक्रिया गरेर जन्मिएका बालबालिकालाई ‘फर्मुला’ दूध खुवाउने गरेको देखाएको छ।


प्रकाशन मिति–२०७७ साल साउन १७ गते शनिवार ।