काठमाडौं। काठमाडौंको शान तथा गौरबको प्रतिक ऐतिहासिक धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। २२ तल्ले धरहराको काम अन्तिम चरणमा पुगेयता धरहरामा गजुर स्थापना पनि गरिसकेको छ। पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर आइतबार धरहराको टुप्पोमा राखिएको हो।

३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा साढे तीन सय मजदुरले काम गर्दै आएका छन्। यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो। डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारीको क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्पको संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको छ।  भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिने पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ। यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो । हरेक दुई तलामा पहिलाकै जस्तो कार्नेसका बुट्टा रहेका छन् भने पुरानै शैलीका गोला झ्यालहरू यसमा देख्न पाइनेछन्।

२०औं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ। २२औं तलामा भने पुरानै शिव लिंग स्थापना गरिनेछ। नयाँ धरहरामा दुईवटा लिफ्टको पनि व्यवस्था गरिएको छ जुन अपांगमैत्री हुनेछन्। पहिलेको धरहरामा गोलो भर्‍याङ राखिएको थियो भने अहिलेको त्यसलाई नयाँ शैलीमा निर्माण गरिएको छ।

पहिले सुर्की र इँटाबाट बनेको धरहरा अहिले गिट्टी बालुवा, सिमेन्ट र रडको प्रयोग गरी बनाइएको छ। पहिले हुलाक कार्यालय रहेको ठाउँमा अहिले पार्किङ क्षेत्र बनाइएको छ। यो तीन तहको पार्किङ क्षेत्र हुनेछ भने यसको माथि बगैंचा र पानीको फोहोरा हुनेछ।

अहिले बन्न लागेको धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ। छेवैमा रहेको सुन्धारालाई पनि जीवन्त बनाउने काम भइरहेको छ। तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो। सुरुमा ११ तला रहेको धरहरालाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए। सुनको जलप लगाइएको गजुर रहने गुम्बज शैलीको यो संरचनाको डिजाइन मुगल कालिगढहरुले गरेको बताइन्छ।

धरहरा पुनर्निर्माणसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते उद्घाटन गर्ने कार्यक्रम राखेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।


प्रकाशन मिति–२०७८ साल बैशाख ७ गते मंगलवार ।