काठमाडौं। सरकारमा नयाँ मन्त्रीको नियुक्ति तथा वहालवालाको हेरफेर र कार्यविभाजन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख रहेको छ।

नयाँ मन्त्रिपरिषद्‍मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। नयाँ हेरफेर अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ। पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । गुरुङले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ। यस्तै शहरी विकास मन्त्रालयको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ। यो मन्त्रालय भौतिक पर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्दैआएका थिए।

प्रकाशन मिति–२०७७ साल असोज २८ गते बुधवार ।